- लोरा एम् अहर्न (Laura m.ahern)
पश्चिम नेपाल अन्तर्गत पाल्पा जिल्लाको जुनी गाउँका महिलाहरूको प्रारम्भिक साक्षरताका बारेमा तयार गरिएको यस शोध लेखमा सामाजिक परिवर्तन र विविध सामाजिक रूपान्तरहरूको कारक तत्त्व साक्षरता हुन सक्छ भन्ने तर्क मैले प्रस्तुत गर्न खोजेकी छु। सन् १९९०को दशकमा जुनी गाउँमा बढेको महिला साक्षरता दरले छोरा-छोरीका आफ्नै पहलमा बिहेबारी हुने तथा प्रेम-पत्र लेखन संस्कारहरूलाई जन्म दियो र केही लैङ्गिक मान्यताहरूलाई थप उर्जा प्रदान गरेता पनि समाजमा महिलाहरूलाई दिइने पदीय जिम्मेवारी र दायित्वका बाटाहरू न्यून गरायो। यसरी यस लेखले हामीलाई साक्षरता आफैमा तटस्थ र आत्मनिर्भर प्रविधि नभई जीवनकालमा भोगेका अनुभवहरूको संगालो हो भन्ने स्मरण गराउँछ जो समुदाय-समुदायमा फरक-फरक हुन्छ। जुनी गाउँमा प्रेम-पत्र लेखनले मागी र चोरी विवाहलाई भागी विवाहमा परिणत गर्नुका साथै गाउँलेहरूका आफ्नै सामाजिक संस्कारप्रतिको दृष्टिकोणमा नै परिवर्तन ल्यायो। सरकारी पाठ्यपुस्तक, नारी साक्षरतामूलक लेख, उपन्यासहरू, पत्र-पत्रिका र प्रेमपत्र सहयोगी पुस्तकहरू जस्ता पाठ्य श्रोतहरूका गहन अध्ययनको फलस्वरूप निस्केको यस लेखले सामाजिक रूपान्तरकर्ता अर्थात् एजेन्सीका बारे नौला विचारधाराहरूको विश्लेषण गर्नुका साथै जुनी गाउँका प्रेम पत्रहरूमा अन्तर्निहित विकासतर्फ उन्मुख नमूनाहरूको पहिचान पनि गर्दछ।
जुनी गाउँमा एउटा प्रचलित भनाइ छ, ‘भावीले लेखेको, छालाले छेकेको’। यो उखान जुनी गाउँका मूल बासिन्दाका रूपमा रहेका मगर समुदायमाझ मात्र नभई नेपालका अन्य जात-जाति एवं जनजातिहरूमा पनि एक प्रचलित विश्वासको रूपमा रहेको पाइन्छ। यस भनाइको तात्पर्य- ‘मान्छे जन्मदा निधारको छालामुनि उसको भाग्य लेखिने हुनाले भविष्यमा यही हुन्छ भनेर किटान गर्न सकिदैँन’ भन्ने हो 1। यस धारणा अनुसार कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने घटनाहरू उसको भाग्यमा निर्भर हुने गर्दछ किनभने भाग्य अथवा अर्को शब्दमा भन्ने हो भने भगवान्मा मात्र कसैको भाग्य लेख्ने शक्ति अन्तर्निहित हुन्छ। जुनी गाउँमा चलन चल्तीका अरू दुई भनाइहरू पनि छन्, जस्तो कि- ‘देखेको मात्रै हुन्न, लेखेको हुनुपर्छ’ र ‘भनेको मात्रै हुन्न, लेखेको हुनुपर्छ’। यी दुवै भनाईहरू माथि उल्लिखित भनाइका समानार्थीहरू हुन्।
साक्षरताको प्रारम्भिक अवस्थामा रहेका समुदायले लेख्न सक्ने र अरूले लेखेको कुरा पढ्न सक्ने क्षमता हासिल गरेको खण्डमा के हुन्छ? एजेन्सी, लिङ्ग, भाग्य र विकास जस्ता अवधारणाहरूले साक्षरतातर्फ उन्मुख नयाँ अभ्यासहरूलाई कसरी स्वरूप दिन्छ वा प्रतिविम्बित गर्छ? यस्ता अभ्यासहरू सँगसँगै कस्ता प्रकारका नयाँ सोचहरूलाई उत्पन्न गराउँछ 2 भाग्य र लेखनका बीच रहेको यस्तो अन्तर सम्बन्धको परिप्रेक्ष्यमा यस्ता सवालहरू महत्त्वपूर्ण हुन जान्छन्।
यस शोध लेखमा मैले ‘साक्षरता, सामाजिक परिवर्तन र विविध सामाजिक रूपान्तरहरूका कारक तत्त्व हुन सक्छ’ भन्ने कुराको उठान गर्न खोजेकी छु। साक्षरता प्रविधिमा सामाजिक रूपान्तरणका सम्बन्धमा निहित सम्भाव्यतालाई औंल्याउने क्रममा म, गुड्डी र उनका समर्थकहरूका दृष्टिकोणसँग भने असहमत छु (गुड्डी, १९८६, १९८७,२०००; गुड्डी र वाट, १९६३)। स्मरण रहोस्, गुड्डी र उनका समर्थकहरू स्त्रिट (१९८४) द्वारा प्रतिपादित स्वायत्त साक्षरता नमुनाका अनुयायी हुन्। शिएफ्लिनले कुलिक र स्ट्राउडलाई उद्धृत गर्दै टिप्पणी गरे अनुसार ‘साक्षरता आफैमा समाज फेर्ने कारक शक्ति अन्तर्निहित हुँदैन। मानिसहरू रूपान्तरण प्रक्रियाका सक्रिय शक्ति हुन्, जसले साक्षरतालाई समुदायमा प्रवेश गराउँछन्’। मानव जीवनमा साक्षरता उन्मुख क्रियाकलापका रूपान्तरण सम्बन्धि प्रभावहरूलाई वर्णन गर्ने क्रममा गुड्डीको मान्यता अनुसार जोसुकैले पढ्न लेख्न सिके पनि अथवा साक्षरता जहिले र जहाँबाट सुरू भए पनि यसले उही सामाजिक र वैचारिक रूपान्तरणहरू प्रदान गर्छ तर ‘म यी प्रभावहरूलाई आवश्यकता भन्दा बढी झुकावको फल ठान्छु’ (१९८६:१८४) जस्ता उनकै भनाइहरूले साक्षरतालाई एउटा तटस्थ प्रविधिकै रूपमा लिनु पर्ने धारणालाई नै उजागर गर्दछ। यस्तो धारणाका विपरीत म भने शिएफ्लिनसँग सहमत छु, जो लेख्छन्, ‘एउटा समुदायले साक्षरतालाई कसरी लिन्छ, यसको विकास कसरी हुन्छ, कुन रूपमा बुझिन्छ र विस्तार हुन्छ? भन्ने कुरा साक्षरता प्रदान गरिने समुदायको दृष्टिकोण र सन्दर्भमा पूर्ण निर्भर हुन्छ’।
मैले साक्षरताका क्रियाकलापहरूलाई सामाजिक, ऐतिहासिक अन्तरसम्बन्धहरूका रूपमा हेरेकी छु। यसै सन्दर्भमा साक्षरताका शाश्वत प्रभावहरूलाई पहिचान गर्न नसकिए पनि यस भित्र अन्तर्निहित जटिलताहरूलाई बुझ्नकै लागि पनि यसको अध्ययन गर्न जरूरी छ। नेपालको सवालमा सन् ८० र ९०का दशकमा महिला साक्षरतालाई नाटकीय रूपमा आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनहरूले सहज बनाएका थिए।
यस लेखको विश्लेषण क्रममा गाउँलेहरूले आफ्ना साक्षरता सीपहरूलाई प्रेम-पत्र लेखनमा प्रयोग गरेको सन्दर्भमा मैले अनुसन्धान गरेकी छु। यसै गरी प्रेम-पत्र लेखनको उत्पत्ति र सामाजिक अन्तरसम्बन्धका सवालमा पार्ने असरहरूलाई लिङ्ग, प्रेम, सामाजिक रूपान्तरण र एजेन्सी जस्ता साक्षरताका बृहत धारणाहरूसँग जोड्ने जमर्को गरेकी छु 3[i]। जुनी गाउँको प्रेम-पत्र लेखनलाई नजिकबाट विश्लेषण गर्ने हो भने यसले समाजमा भैरहेका सामाजिक रूपान्तरणका सूक्ष्म प्रक्रियाहरूलाई हुबहु प्रष्ट्याएको छ भन्ने मेरो तर्क हो। मेरो वैचारिक अडान यो पनि छ कि यस गाउँको जीवन-शैलीमा भित्रिएको ‘प्रेम-पत्र लेखन’ जस्तो नौलो अभ्यासले मागी र चोरी विवाहलाई भागी विवाहमा बदल्ने काम त गर्यो गर्यो, साथै समग्र रूपमा जीवन र सामाजिक चाल चलनप्रति उनीहरूको दृष्टिकोणमै परिवर्तन ल्यायो।
यी प्रेम-पत्रहरूले समाजमा द्रुतगतिमा बदलिरहेको वैवाहिक रीति-थीति र संस्कारहरूकाबारे अमूल्य ज्ञान प्रदान गर्नुका साथै समाजमा साक्षरताले ल्याउने परिवर्तनका बारे पनि हामीलाई जानकारी दिन्छन्। गुड्डी (२०००:१५४)का अनुसार साक्षरताले एकातिर थुप्रै नौला अवसरहरूका लागि ढोका खुला गर्दछ भने अर्कातिर अप्रत्यासित अप्ठ्यारा, आकांक्षा र निराशाहरूलाई पनि भित्र्याउँछ। सन् १९९०को दशकमा जुनी गाउँमा बढेको महिला साक्षरता दरले छोराछोरीका आफ्नै पहलमा बिहेबारी लगायत प्रेम-पत्र लेखन जस्ता संस्कारहरूलाई जन्म दिनुका साथै केही निश्चित लैङ्गिक विचारधाराहरूलाई थप उर्जा प्रदान गरे पनि महिलाहरूले समाजमा पाउनु पर्ने पदीय जिम्मेवारी तथा दायित्वका अवसरहरू भने न्यून नै रहे। यसैले यस अध्ययनले हामीलाई साक्षरता आफैमा तटस्थ र कुनै खास एउटा प्रविधिमा आधारित नभई समुदाय-समुदाय अनुसार फरक-फरक हुने जीवनका विविध अनुभूतिहरूको सँगालो भएको कुरा प्रष्ट्याउँछ 4।
प्रेम देखि विकाससम्म र पुन: प्रसंग प्रेमकै
सन् १९९२ जून महिनामा २१ वर्षीय बीर बहादुरले 5 सरितालाई आफ्नो पहिलो प्रेम पत्रमा निम्न कुराहरू लेखेका थिए:
सरिता, म एकदम सहरा विहीन र एक्लो छु। मेरो एक्लोपन तिमी समक्ष राख्न मैले कलम र कापीलाई साथी बनाउनु परेको छ। प्रेम, यस्तो सर्वव्यापी कुरा हो जसको असर जो कोहीमा पर्न सक्छ; भन्छन् विश्वकै महान् व्यक्ति हिट्लरले पनि एभालाई मन पराएका थिए। संसारलाई नै जितेका बीर नेपोलियनको मन पनि एउटी विधवालाई देख्दा पग्लेको थियो। इतिहासका पानाहरू यस्तै एक अर्कालाई प्रेम गर्ने मानिसहरूका गाथाले भरिएका छन्। सरिता, यसैले छोटकरीमा भन्नु पर्दा मैले यो भन्न चाहन्छु कि, ‘प्रेम दुई आत्माहरू बीचको सम्झौता हो। अझ प्रेमको मुख्य अर्थ भनेकै सफल जीवन हो। म तिमीलाई प्रेमको आमन्त्रण दिंदैछु’।
माथिको प्रेम-पत्र लेखिएताका वल्लो-पल्लो मगर गाउँका बीरबहादुर र सरिता दुबै तानसेन क्याम्पसमा अध्ययनरत थिए। उनीहरूको देखादेख भने दुई महिना पहिले एकपटक मात्र भएको थियो तर त्यही छोटो भेट नै एक अर्कालाई चिन्ने, परिवार र विवाह योग्यताका सम्बन्धमा बुझ्ने एक अवसर बन्न पुगेको थियो। दुई महिना पश्चात् बीरबहादुरले प्रेम-पत्र पठाए र सरिताले त्यसमा सकारात्मक जवाफ पठाएपछि उनीहरूका बीच नयाँ सम्बन्ध स्थापित भयो।
प्रेम पत्रका माध्ययमद्वारा सृजित यस प्रकारको सम्बन्ध सन् १९९० ताका सम्भव भएको एक मात्र कारण गाउँमा बढ्दो महिला साक्षरता नै मान्नुपर्छ। केटा-केटीका बीच एकान्तमा हुने भेटघाट र कुराकानीलाई समाजले उचित नठान्ने तत्कालीन समयको परिप्रेक्ष्यमा (बहुसंख्यकले बाबु-आमाको आँखा छली भेट्ने पनि गर्दथे) प्रेम-पत्र नै एक त्यस्तो माध्यम थियो जसको सहयोगले प्रेमी प्रेमिकाहरू एक अर्कासँग सम्पर्क राख्दथे। प्रेम-पत्रले मायालु जोडीहरूका बीच सम्पर्क कायम गराउनुका साथै एक अर्कालाई अझ नजिकबाट चिन्ने मौका प्रदान गर्दथ्यो। प्रेम-पत्र लेख्नेहरूको छुट्टै पहिचान स्थापित हुन्थ्यो; पढे लेखेका शिक्षित र विकसित[6]। यी विकसितहरू आ-आफ्ना जीवनका सहयात्रीहरू आफै खोज्न सक्ने सामर्थ्य बोकेका मानिन्थे।
सरिता र बीरबहादुर प्रेम-पत्रद्वारा सम्बन्ध स्थापित गर्ने गाउँकै पहिला व्यक्तिहरू थिए, तर भावनात्मक प्रेम अनुभूति गर्नेहरू मध्येका पहिला भने पक्कै थिएनन्। वास्तवमा जुनी गाउँमा प्रेमका अभिव्यक्तिहरू पुराना लोक गीत, कविता, कथा र दशकौँ पहिला घटेका भागी-विवाहबारेका कथनहरूमा पर्याप्त मात्रामा पाइन्छन्। यद्यपि पुर्खाहरूका प्रेमभन्दा सरिता र बीरबहादुरको प्रेम धेरै हिसाबले फरक थियो। जुनी गाउँका पुराना पुस्ताका मगरहरू, जसले मागी वा चोरी विवाहलाई अङ्गीकार नगरी भागी विवाह पछ्याउने मगरहरूले सम्बन्ध गाँस्ने सवालमा अत्यन्त थोरै समय दिए। प्राय: जसो कुनै विहे, पर्व, मेला वा गीतको जमघटमा भएको देखभेटको भोलिपल्ट नै उनीहरू भाग्ने गर्दथे। भागी विवाहका यस्ता घटनालाई मायालु जोडीका बीच स्थापित भावनात्मक प्रेमले नै सृजना गर्दथ्यो तर पुराना पुस्ता र नयाँ पुस्ताका बीचको भागी विवाह “भावनात्मक प्रेमका” बारे यी दुई पुस्तामा रहेको भिन्न-भिन्न अवधारणाका आधारमा फरक थियो। विगतमा भावनात्मक प्रेमलाई लोक लाजका कारण लुकाउनु पर्ने रूपमा लिइन्थ्यो भने सन् १९९० यता भावनात्मक प्रेम गाउँलेहरूको दिमागमा विकास र आधुनिकताको प्रतीकको रूपमा विकसित भएकोले एउटा इच्छित वा जनचाहनाको विषयको रूपमा अगाडि बढ्दै गयो (अहर्न, २००३)। यस प्रकारको बदलिँदो सामाजिक रीतिस्थितिलाई म विस्तृतमा केलाउनेछु ।
बीसौं शताव्दीको अन्त्यतिर जुनी गाउँमा भागी विवाहको संख्या, मागी र चोरी विवाहको तुलनामा क्रमश: बढिरहेको पाइन्छ भने मागी र चोरी विवाहको संख्या घट्दो छ (हेर्नोस् चित्र १)। त्यसपछि विकसित घटनाक्रममा बिहेका लागि छोरी मान्छेको मञ्जुरी लिनु पर्ने दिशातर्फ समाज अघि बढिरहेको देखिन्छ। भिन्न-भिन्न किसिमका विवाहमा केटीको मञ्जुरीले राख्ने महत्त्व र यसलाई समाज तथा गाउँलेले हेर्ने दृष्टिकोणका बारेमा अझ वेलिविस्तार लगाउनेछु (अहर्न, २००१क)।
साक्षरताका अभ्यासहरू र सम्बन्धित विकासका छलफलहरू
लेखको बाँकी भागमा म जुनी गाउँको प्रेम-पत्र लेखनलाई साक्षरता अभ्यासको फराकिलो दायरा भित्र राखेर विश्लेषण गर्ने जमर्को गर्नेछु। यसो गर्दा गाउँलेहरूका प्रेम, सफलता, एजेन्सी र व्यक्तित्वका बारे नयाँ विचारहरूका केही स्रोताहरू भेटिनेछन्।
जुनी गाउँमा सन् १९९० ताका विकासका कुराकानी र छलफलहरू [7] पर्याप्त मात्रामा चल्ने गर्दथ्यो। पाठ्यपुस्तक, पत्रपत्रिका, उपन्यास, रेडियो नेपालका विकास सम्बन्धी कार्यक्रम, तानसेनमा चल्ने हिन्दी सिनेमा, प्रेम-पत्र लेखनका सहयोगी पुस्तक, दैनिक कुराकानीका विषय र साबुनका विज्ञापन तथा नाटकहरूमा विकास सम्बन्धी कुराकानी र छलफलहरूका अंशहरू पाइन्थ्यो तर म भने एजेन्सीका बारे नयाँ विचारहरू र विकासे छलफलहरूका मुख्य पाठ्य श्रोतमा नै ध्यान केन्द्रित गर्न चाहन्छु। यस सन्दर्भमा मेरो महत्त्वको विषय सर्वाधिक पढिने पाठ्य सामग्रीहरूका विश्लेषण नै हुनेछन्। यी पाठ्य सामग्री भित्रका पाठहरूलाई नजिकबाट नियाल्दा जुनी गाउँका प्रेम-पत्रहरूमा विद्यमान विकासे अलंकारहरूका सम्भावित श्रोतहरू पत्ता लगाउन सक्छौं।
जुनी गाउँको सर्वोदय माध्यमिक विद्यालय लगायत नेपालका सबै सरकारी विद्यालयहरूले कक्षा १-१० [8] सम्म शिक्षा तथा संस्कृति मन्त्रालयले प्रकाशन गर्ने एकै किसिमको पाठ्य पुस्तकहरू चलाउँछन्। म आफैले पिस कोरमा काम गर्दा यिनै पुस्तकहरू पढाएकी थिएँ र जुनी गाउँका प्रेमपत्र लेखक लेखिकाले साक्षरता सीपहरू यिनै पाठ्य सामग्रीबाट हासिल गरेका हुन्। पाठ्य पुस्तकका कथा र तस्वीरहरूले प्रदान गर्ने सार निम्न छन्:
* राष्ट्रवाद र विकासका बीच परिपूरकता
* उमेरगत र लैङ्गिक तहगत विभाजन
* हिन्दुत्त्वको संस्थागत महत्त्व [9]
माथि उल्लिखित सन्देशहरूले जुनीगाउँको बदलिंदो सोचाइको संरचनामा महत्त्वपूर्ण प्रभाव पारेको भेट्न सकिन्छ। गाउँलेहरूका व्यक्तित्व, एजेन्सी र सामाजिक बनौट तथा संरचना जस्ता धारणाहरूका बारे बदलिँदो सोचलाई आकार दिन तथा सही प्रतिविम्ब प्रदान गर्नमा यी सन्देशहरूले मुख्य भूमिका खेलेको पाइन्छ (सिएफ लुक, १९९८, सिएफ्लिन,२०००)।
जुनी गाउँ र नेपालका अन्य भागमा महिला साक्षरता अभिवृद्धि लक्ष्यले तयार पारिएका पाठ्य पुस्तक ‘नयाँ गोरेटो’ले पनि यस्तै विषयहरू समेटेको पाइन्छ। महिला साक्षरताका लागि प्रयोग हुने यस्ता पुस्तकहरूका पाठ्य सामग्री र तस्वीरहरू औपचारिक शिक्षा अन्तर्गतका सामग्री भन्दा केही फरक छन् तर आफैमा प्रभावकारी र उपयोगी छन्। सरकारी विद्यालयहरूमा प्रयोग गरिने पाठ्य पुस्तकहरूले झैँ नयाँ गोरेटोले पनि विकसित हुनु पर्नेमा जोड दिन्छ तर अघिल्ला श्रोतहरूमा जस्तो नेपाली राष्ट्रवाद, हिन्दूवाद, विद्यमान लैङ्गिक एवं उमेरका हिसाबले तहगत विभाजन र संरचनाहरू भने यसमा पाईँदैन। यसको विपरित समाजमा विद्यमान संरचनाहरूलाई नयाँ गोरेटोले चुनौंती समेत दिएको छ। रमाइलो पक्ष के छ भने यी दुवै सामग्रीहरू सरकारी अनुदानबाट प्रकाशित हुन्छन्। यसले प्रकाशनका सवालमा कुनै पनि सरकारको एकै नीति नरहेको कुरा स्पष्ट हुन्छ।
फ्रेरियन डिजाइनमा[10] आधारित नयाँ गोरेटोको पहिलो पृष्ठमा नै विकासे सन्दर्भ र छलफलहरू तर्फ केन्द्रित विचारहरू छन्। विद्यार्थीहरूका चेतना बढाउनका लागि राखिएका कार्टुन तस्वीरहरू र वर्णन गर्न प्रयोग भएको शव्दावलीले गाउँलेहरूका समस्याहरूलाई सही रूपमा झल्काउँदै प्रगतिशील भएर बाँच्नका लागि नैतिक शिक्षा प्रदान गर्छन्। यो कुरा पनि अकाट्य छ कि पुस्तकका सामग्रीहरूलाई भिन्न-भिन्न तहका साक्षर भएका पाठकहरू आफ्नै तरीकाले ग्रहण गरेका हुन्छन्।
नयाँ गोरेटोको विचार र सिद्धान्तलाई जुनी गाउँका पाठकहरूले निष्कृय र कुनै प्रश्न नै नगरी चुपचाप ग्रहण गरेको भने अवश्य पाइँदैन। त्यसो त गाउँमा विकासे छलफल र कुराकानीका लागि यो एक मात्र श्रोत पनि होइन। त्यसैले यस पुस्तकप्रतिको कसैको खास दृष्टिकोणका बारेमा निर्क्योल निकाल्न अलि कठिन छ। यद्यपि मैले अनुभव गरेकी छु कि कार्टुन चित्रका कथाहरू र त्यसमा पनि विशेष गरी मद्यपानले ग्रस्त लोग्ने मान्छेहरू, बहुविवाहका समस्याहरू र वैवाहिक जीवनप्रति उदासीन भई श्रीमान् छोड्ने निर्णय गर्न पुगेका महिलाहरूका कथालाई उनीहरूले अलि सतर्कतापूर्वक लिने गर्छन्।
जुनी गाउँको प्रेमपत्र लेखन पछाडिको आदर्श र बहुसंख्यक सामाजिक परिवर्तनहरूको श्रेय नयाँ गोरेटोलाई जान्छ। मेरो विचारमा यो आत्मापर्याप्तता, कठिन परिश्रम, विकास, सफलता र व्यक्तिगत जिम्मेवारीका वैचारिक सामग्रीको वर्णनमा नै भर परेको हुन्छ। सर्वोदय विद्यालयका पाठ्यपुस्तक र कक्षा कोठाहरूमा यस्तै प्रकृतिका सन्देशहरूको बाहुल्य पाइन्छ। थोरै भिन्न परिवेशमा देशभक्ति, हिन्दूवाद र भगवान प्रतिको निष्ठामा बढी जोड दिएको पाइन्छ। औपचारिक शिक्षा आर्जन गरेर होस् वा बेलुकीका प्रौंढ शिक्षाका सहायताले होस् साक्षरताका सीपहरूको सहयोगले जुनी गाउँका बासिन्दाहरू बढी भन्दा बढी विकास, पूँजीवादी क्रियाकलाप, स्वतन्त्रता र एजेन्सीका बारे जानकारी लिनका लागि हौंसिएको र उत्साहित भएको पाइन्छ। जेन्नी कुक गम्पेर्ज यस प्रक्रियालाई सही अर्थमा पहिचान गर्दै भन्छिन्, ‘साक्षरता एउटा सामाजिक घटना हो, जुन पठनपाठन र अध्ययन-अध्यापनबाट सृजित हुन्छ(१९८६:६)’।
सन् १९९०का दशकमा जुनी गाउँमा सरकारी विद्यालय र महिला साक्षरता कक्षाहरूमा प्रयोग हुने पाठ्य पुस्तकहरू पछि पत्र-पत्रिकाहरू सबैभन्दा लोकप्रिय थिए। यी पत्र पत्रिकाहरूमा मूलत: तीन किसिमका पर्छन्।
* फिल्मी पत्रिका, कामना
* विकास, शिक्षा र मनोरञ्जनमा केन्द्रित पत्रिकाहरू, देउराली र युवामञ्च
* जनजातीय राजनैतिक आन्दोलनलाई समर्थन प्रदान गर्ने प्रकाशनहरू, लाफा र काइरान
यो दशकमा जुनी गाउँका बासिन्दाहरू माझ उपलब्ध हुने अन्य पाठ्य सामग्रीहरूमा छोटा कथा सङग्रहहरू र उपन्यास पर्दथे, तर महङ्गा भएकै कारण केवल सीमित गाउँलेहरूले मात्र यस्ता पाठ्य सामग्रीहरू पढ्ने गर्दथे। आकर्षक चित्र र लेखहरूले भरिएका र गाउँलेहरूलाई बुझ्न सरल हुने पत्रपत्रिकाहरूले पनि उनीहरू माझ खासै पकड जमाउन सकेको थिएन। लोक कथाका केही सङ्कलन बाहेक मैले गाउँमा देखेको काल्पनिक विधाको साहित्यमा प्रकाश कोविदको ‘लभ लेटर्स’ [11] नामक उपन्यास नै प्रमुख थियो। अनुसन्धानको क्रममा मैले कुराकानी गरेका पुराना पुस्ताका कुनै पनि मानिसले त्यस अघि सो उपन्यास नपढेको बताए पनि नयाँ पुस्ताका तन्नेरीहरू माझ भने उक्त किताव धेरै संख्यामा वितरित मात्र भएको थिएन बरू कथाका अंशहरूका वारेमा पनि उनीहरूलाई विस्तृत जानकारी थियो।
कुराकानीको क्रममा जुनीगाउँका अधिकांश प्रेम-पत्र लेखक, लेखिकाहरूले आफूहरूको मनले जे भन्छ त्यहीँ कापीमा उतार्ने गरेको कुरा बताए र उपलब्ध प्रेम-पत्रका सहयोगी सामग्रीहरू पटक्कै प्रयोग नगर्ने बताए। यद्यपि तानसेन बजारका किताब पसलहरूमा छ्यापछ्याप्ती पाइने प्रेम-पत्रका सहयोगी सामग्रीहरूले जुनी गाउँमा आदान-प्रदान हुने प्रेम-पत्रहरूलाई प्रतिविम्वित गरेको पाइएकाले केही छोटा अंशहरू भने यहाँ प्रस्तुत नगरिरहन सक्दिनँ।
जब मैले पहिलो पल्ट ‘कसरी प्रेम पत्र लेख्ने?’ भन्ने विषयका पुस्तकहरू नेपाली भाषामा उपलव्ध छन् भन्ने कुरा सुनेँ तब मैले श्रेष्ठ न्युज एजेन्सीका एक जना क्लर्क भाइलाई उनीहरूसँग भएका सबै सामग्रीका एक-एक प्रति सामग्री मागेँ। ‘माफ गर्नु होला, सबै बिक्री भैसके’, ती भाइले जवाफ दिए। करीब दुई हप्ता पछि म फेरि उक्त पसलमा पुग्दा किताबहरू आएर पनि पुन: सबै बिक्री भैसकेका रहेछन्। मेरो तेस्रो पटकको प्रयासमा ती भाइले मलाई चिने र मुस्कुराए; हुनुपर्छ तिनको सोचमा म प्रेम पत्र लेख्न सिक्न व्याकुल थिएँ। फेरि पनि मैले कुनै सहयोगी पुस्तकहरू पाइन। केही महिनापछि त्यहीँ दोकानबाट मैले आरा जोन मोभ्सियनका ‘हाउ टू राइट लभ लेटर्स एण्ड लभ पोएम्स (मोभ्सियन १९९३)’ हात पारेँ। यद्यपि कैयन पटकको दोकानको भ्रमणमा हिन्दीका कुनै पनि लोकप्रिय सहयोगी पुस्तकहरू पाइन[12]। काठमाण्डौंका पुस्तक पसलहरूमा मैले अङ्ग्रेजीमा अरू दुईवटा सहयोगी पुस्तकहरू पाएँ जसमा जे एस ब्राइटको ‘लाइभ्ली लभ लेटर्स’ (ब्राइट, एन डी) र मनोहरको[13] ‘लभ लेटर्स’(मनोहर, एन डी) थिए।
आफ्नो सहयोगी पुस्तकमा मोभ्सियनले जुनी गाउँका प्रेम-पत्रहरूले दिने दर्शन नै प्रस्तुत गर्छन्। यस दर्शनका अनुसार प्रेम जीवनको अत्यन्त महत्त्वपूर्ण पक्ष हो। यसका साथ-साथै असाक्षरताका कारण विद्यमान पछ्यौंटेपना र त्यसपछि साक्षर मोडमा सभ्य र परिष्कृत भावनात्मक सम्बन्धको क्रमसंगत विकासक्रममा पनि प्रेमलाई जोड्ने कोशिश गरिएको छ। मोभ्सियनको प्रस्तावनाबाट उद्धृत तलको अनुच्छेदले पनि जुनीगाउँका प्रेम पत्रले बोक्ने सन्देश र चरित्रलाई पुष्टि गर्नुका साथसाथै साक्षरताको प्रभावका सम्बन्धमा वैचारिक अनुमानहरू पनि पेश गर्दछ।
मौंखिक भाषाले आफ्नो प्रेमलाई पहिले भन्दा परिष्कृत ढङ्गले व्यक्त गर्न व्यक्तिविशेषलाई सहयोग पुर्यायो। अर्कातिर लिखित भाषाले प्रेमीहरूलाई एउटा सशक्त साधन प्रदान गर्यो। प्रेम प्रकट गर्ने दुई विधाहरूको जन्म भयो– प्रेम पत्र र प्रेम कविता। साक्षर मानिसहरूले शताव्दियौंदेखि आफ्ना आन्तरिक मनका भावना र चाहनाहरूलाई यिनै दुई माध्यमबाट प्रकट गर्ने गरेको पाइन्छ। हेनरी आठौं र नेपोलियनले पनि आफ्ना प्रेमिकाहरूलाई प्रेम-पत्रकै माध्यमद्वारा माया प्रेम पोखेका थिए। प्रेम-पत्र लेखनमा विख्याती कमाउन सफल मानिसहरूमा किंवदन्ती लेखक साइरानो डि बेर्जेराक मानिन्छन्। उनले आफ्ना लागि नभई हितैषी मित्रहरूका निम्ति अनगिन्ती पत्रहरू लेखेका थिए (मोभ्सियन, १९९३:सातौं)।
मोभ्सियनको सहयोगी पुस्तक र सरितालाई बीरबहादुरले लेखेको चिठीमा उही कुराहरू उद्धृत भएको पाइन्छ। मोभ्सियनको पुस्तकको पहिलो पत्र, ‘लभ लेटर्स फ्रम दि पास्ट’ डिसेम्वर सन् १७९५मा नेपोलियन बोनापार्टले जोसेफिन डि ब्यूहारनाइसलाई लेखेको प्रेम-पत्र थियो। यस पत्रको केही अंश तल उल्लेख गरिएको छ।
म तिम्रो बारेमा नानाथरी विचारहरू संगाल्दै व्युँझन्छु। तिम्रो तस्वीर र तिमीसँग बिताएको मदहोशी साँझको कल्पनाले मलाई सताउँछ। मेरी प्यारी र अतुलनीय जोसेफिन, मेरो दिलमा तिमीले कस्तो अचम्मको छाप छाड्यौ! कतै तिमी मसँग रिसाएकी त छैनौ? कतै दु:खी र चिन्तित पो छ्यौ कि? (मोभ्सियन, १९९३:७)
माथि उल्लिखित हरफहरू बज्रबहादुर र शिलादेवीका बीचको चिठी-पत्र आदान-प्रदानमा प्रततिविम्बित भएको पाइन्छ। सन् १९९० को बसन्त ऋतु कालमा बज्रबहादुरले लेखेका थिए,- ‘फेरि पनि यो पत्र पढ्ने क्रममा तिमी रिसाउँछ्यौ होला। तिमीलाई प्रत्येक चोटि देख्दा रिसाएकी नै हुन्छौ। किन हो कुन्नि, तिमी रिसाएको पाउँदा मेरो मुटु टुक्रा-टुक्रा भई काटिन्छ?’
उपसंहार
जनसम्पर्कका विविध माध्यमहरूमा आउने परिवर्तनले निश्चित रूपमा मानवीय जीवन पद्धतिमा नै फरक पार्दछ भन्ने गुड्डी(२०००:१५५)को भनाइमा शाश्वत सत्य लुकेको छ। यस कथनले अनेकन प्रश्नहरू उब्जाउँछ, जस्तै– ‘कसरी परिवर्तनहरू आए? यदि आएकै भए कसका लागि? किन? र कस्ता नतिजाहरू सहित?” अर्कातिर सिएफ्लिन (२०००:२९३)ले लेखे झैं, साक्षरताका अभ्यासहरूलाई ग्रहण तथा संगठन गर्ने तरिकाहरूमा एक देखि अर्को समाजमा फरक हुने गर्दछ। सांस्कृतिक र ऐतिहासिक पक्षहरूले पनि साक्षरता अभ्यासका क्रममा विशेष मह्त्त्व राख्ने गर्दछ। जुनीगाउँको सन्दर्भमा यो कुरा स्पष्ट छ कि साक्षरता वैचारिक लगाव वा सिद्धान्तसँग हातमा हात मिलाएर अघि बढ्दछ किनभने सन् १९९० को दशकमा गाउँलेहरूले केही निश्चित सामाजिक शक्तिका बलमा साक्षरता सीपहरू हासिल गरेका थिए। आधुनिकता र विकास हासिल गर्नमा औपचारिक शिक्षाले विशेष महत्त्व राख्दछ।
यस सन्दर्भमा साक्षरताका अभ्यासकर्ता र विद्वान्हरूले जुनीगाउँमा बढ्दो महिला साक्षरतालाई शक्तिविहीनलाई शक्ति दिने संज्ञा सहित सकारात्मक नतिजाको रूपमा लिए पनि मेरो अनुसन्धानले यो निर्क्योल गरेको छ कि साक्षरताले सधै शक्ति प्रदान गर्दैन (लुक, १९९६; स्ट्रिट, २००१)। यस अर्थमा पनि कि आफूले आर्जन गरेको साक्षरताका सीपहरूलाई प्रेमपत्रमा प्रयोग गरी भागी विहे गर्न पुगेका महिलाहरूले घर राम्रो हुन नसके माइतीबाट सबै प्रकारका समर्थनहरू गुमाउँछन्। आफूले केवल प्रेमपत्रहरूबाट मात्र चिनेको मान्छेले चिठीमा देखिए जस्तो वास्तविक माया नगर्दा वा कडा मिजासकी सासूको बुहार्तन सहन नसक्दा माइतीहरूबाट आवश्यक सहयोग र मध्यस्थता पाउँदैनन् किनभने मागी विवाहलाई अंगीकार नगरी उनीहरूले परिवारको जानकारी र इच्छा विपरीत भागी विवाह गरे। जुनी गाउँमा घटेका केही यस्ता घटनाले साक्षरताका सवालमा यस्तै नकारात्मक पृष्ठभूमि प्रदान गर्दछ।
अन्तमा जुनी गाउँका कक्षा-कोठा भित्र र बाहिर प्रयोग हुने पाठ्य सामग्रीहरूले दिने विभिन्न प्रकारका वैचारिक सन्देशहरू र अप्रत्यासित रूपमा केटा केटीहरूले प्रयोगमा ल्याउने गरेका साक्षरता सीपका अभ्यासका उदाहरणहरूले हामीलाई साक्षरता हासिल गर्न कुनै खास ठाउँको संस्कृति अनुरूप लाग्नुपर्दछ भन्ने शिक्षा दिन्छ। केहीले पाठ्य सामग्रीमै वा पाठ्यक्रममै प्रेम-पत्रलाई राख्नु पर्दछ भन्ने तर्क गर्लान् तर मेरो विचारमा यी सब सुझावहरूलाई महिला साक्षरता कक्षाहरूमा भाग लिइरहेका महिलाहरूले ठाडै अस्वीकार गर्नेछन् किनभने उनीहरूले मान्यताप्राप्त वास्तविक शिक्षा मागेको पाइन्छ। उनीहरू आफ्ना दाजुभाइ वा परिवारका अन्य पुरूष सदस्यले लिने औपचारिक शिक्षा अन्तर्गतका पाठ्य पुस्तकहरू नै आफूहरूलाई पढाइनु पर्ने विचार राख्छन्। वास्तवमा सन् ८० र ९० का दशकमा महिला साक्षरता कक्षाका विद्यार्थीहरूले ‘नयाँ गोरेटो’ अन्तर्गतका पाठ्य सामग्रीले प्रदान गर्ने सन्देशहरूलाई ठाडै अस्वीकार गरेका थिए। उनीहरूका दृष्टिकोणमा यी पुस्तकहरूमा उनीहरूलाई वास्तविक रूपमा शिक्षित हुने उद्देश्य पूरा गर्ने सामर्थ्य थिएन। औपचारिक शिक्षामा उनीहरू विशेष सामाजिक इज्जत रहेको पाउँथे। साक्षरता सीपहरू हासिल गर्ने यी असमान र फरक बाटाहरूका सन्दर्भमा यहाँ ब्राइन स्ट्रिट(२००१-८) यस्तो टिप्पणी गर्दछन्:
साक्षरतामा संलग्न हुनु भनेको आफैमा एउटा सामाजिक गतिविधि हो। शिक्षक, मध्यस्थकर्ता, विद्यार्थी आदिका अन्तर्क्रियालाई नै एउटा सामाजिक अभ्यासका रूपमा लिन सकिन्छ।यस्तो अन्तर्क्रियाले ग्रहण गरिरहेको साक्षरता सीपको प्रकृति र साक्षरताका विषयमा विशेष गरेर नयाँ सहभागीहरूले लिने विचारधारामा प्रभाव पार्दछ। यसैले पनि सामाजिक प्रभावहरू पछि अनुभूति गर्न मिल्ने गरी तटस्थ रूपमा साक्षरता प्रदान गर्न मिल्छ भन्न मिल्दैन।
निस्कर्षमा भन्नु पर्दा म यो कुरालाई स्वीकार गर्दछु कि मैले प्रेमपत्र-लेखनभित्रको नेपाली साक्षरता अभ्यासका जटिलताहरूलाई केवल सतहगत ढङ्गमा मात्र विश्लेषण गरेकी छु। यद्यपि मैले यी प्रेमपत्रहरू र जुनी गाउँमा उपलब्ध अन्य पाठ्य-सामग्रीहरूमा विद्यमान विकास सम्बन्धी छलफल र विचारहरूका केही पारस्परिक सान्दर्भिकता प्रस्तुत गर्न सकेकी छु भन्ने लागेको छ। यसका अतिरिक्त जुनी गाउँको प्रेमपत्र लेखन अभ्यासको ऐतिहासिक र सामाजिक सन्दर्भलाई प्रस्तुत गरेर मैले साक्षरता सीपहरूका नौलो विधामा प्रयोग र यस्तो अभ्याससँग सम्बन्धित जटिलताहरूका बारेमा शोधकार्य गरेकी छु। यस शोध मार्फत् मैले साक्षरता हासिल गर्ने सम्बन्धमा पूर्ण सान्दर्भिक विश्लेषण प्रस्तुत गरेकी छु भन्ने आशा गरेकी छु।
1 यस पत्रको प्रारम्भिक संस्करण एशोसिएसन इन्टरनेशनल अफ् लिङ्ग्विस्टिक्स एप्लिकेशन्सद्वारा प्रयोगात्मक लिङ्ग्विस्टिक्सको १३औं विश्व कंग्रेस सम्मेलनका अवसरमा १९ डिसेम्बर २००२, सिंगापुरमा आयोजित साक्षरता सम्बन्धी ‘साक्षरता अनुसन्धानमा विश्वव्यापी र स्थानीय सवालहरू’ नामक विचार गोष्ठीमा प्रस्तुत गरिएको थियो।
2 विलियम्स (१९७७)
3 भाषा र एजेन्सीका बारेमा सामग्रीहरूका सिंहावलोकनका लागि हेर्नोस् अहर्न (२००१b)
4 साक्षरता अभ्यासका बारेमा सामग्रीहरू र विशेष गरी नयाँ साक्षरता अध्ययनका बारेमा बुझ्नका लागि हेर्नोस् बार्टोन, एट एल (२०००), बैनह्याम(१९९५), कोल्लिन्स(१९९५) र स्ट्रिट (१९८४, २००१)
5 मगर लोग्ने मान्छेका लागि ‘बहादुर’ साझा नाम हो, जसको अर्थ ‘साहसी’ हुन आउँछ। यसै गरी ‘कुमारी’ र ‘देवी’ जसले भगवतीलाई जनाउँछ आइमाईका लागि प्रयोग हुने नाम हो। अत्याधिक जुनी गाउँका बासिन्दाहरूले मेरो शोध-लेखहरूमा र सार्वजनिक प्रस्तुतिहरूमा उनीहरूले आफ्ना सक्कली नाम खुलाएमा पनि फरक नपर्ने बताए पनि मैले केहीलाई जोगाउने हिसाबमा काल्पनिक नामहरू उल्लेख गरेकी छु। यसै सन्दर्भमा जुनी गाउँ पनि काल्पनिक नाम नै हो।
[6] अखिल गुप्ता (१९९८) टिप्पणी गर्छन् कि उपनिवेशी विचारधाराले दुई विभाजित धारहरू जन्म गरायो जुन फुक्लडियन दृष्टिकोणमा अनौठो तवरले उपलव्धिमूलक छ, यस मानेमा कि यी धाराहरूले आफूमा निहित समाजशास्त्रको निर्माणमा बल पुर्याउँछन् (गुप्ता, १९९८:९)। जुनी गाउँका गाउँलेहरूमा पनि यस्तो विभाजित अवधारणाहरू (विकसित/पिछडिएको वा आधुनिक/परम्परागत) प्रयोग भएको पाइन्छ जसले गुप्ताले भन्ने गरेका उपनिवेशी कालका उत्तरार्ध अवस्थाका जटिलता र असमेलता अनि विरोधाभासहरूलाई औंल्याउँछन्। स्टासी पिगले टिप्पणी गरे झैं यस प्रकारको विभाजनले सामाजिक विश्लेषणमा सहयोग पुर्याए या नपुर्याए पनि तथ्य यो हो कि यी शव्दहरू हामीले वर्णन गर्ने र बुझ्ने ठाउँमा व्याप्त छन्। यसैले हाम्रा आधुनिकताका छलफलहरूमा प्रयोगमा आउने शव्दहरूलाई मानिसहरूले ग्रहण, परिमार्जन र प्रश्न गर्ने सवालमा पछ्याउँदै जानु पर्ने हुन्छ (पिग १९९६:१६३-४)। यसै गरी आधुनिकता र परम्परागत मूल्य, मान्यतालाई विकसित यूरोपेली संस्कृतिको फराकिलो दायरा भित्र राखेर एउटा सानो अंशको रूपमा कसरी हेर्न सकिन्छ भन्नाका लागि हेर्नोस् कोलियर (१९९७:२१३) विकासका छलफलहरूका लागि हेर्नोस् एस्कोबार (१९९५), ग्रिल्लो स्टि
[7] विकासका छलफलहरूका लागि हेर्नोस् एस्कोबार (१९९५), ग्रिल्लो स्टिराट (१९९७), पिग(१९९२,१९९६),शिवरामकृष्णन्(२०००), उस्ट(१९९७)
[8] प्राय सबै ठाउँहरूमा कक्षा दश नै अन्तिम पढाइ हो माध्यमिक विद्यालयहरूमा, कुनै कुनै ठाउँमा १०+२ पनि सञ्चालन गरिएका छन् तर जुनी गाउँमा यस्तो व्यवस्था छैन।
[9] एउटा पृथक सांस्कृतिक परिवेशमा डिक र जेनका पाठ्य पुस्तकहरूका विश्लेषणका लागि हेर्नोस् लुक (१९८८)
[10] हेर्नोस् फ्रेइरे (१९७२) र म्याकेडो (१९८७)
[11] नेपालीमा प्रेमपत्रले दुवै एक वचन र वहुवचन जनाउँछ।
[12] नेपालीमा कुनै पनि प्रेमपत्र लेखनका लागि सहयोगी पुस्तक छैनन् भनेर मलाई भनियो।
[13] पुस्तकका लेखकले केवल ‘मनोहर’ नाम मात्र प्रयोग गरेका छन्।
सन्दर्भ सूची
Ahearn L.M. Language and agency. Annual Review of Anthropology 30, 109-37 (2001b).
Ahearn, L.M. Writing desire in Nepali love letters. Language & Communication 23 (2), 107-22, (2003).
Ahearn, L.M., Ann Arbor. Invitations to Love: Literacy, Love Letters, and Social Change in Nepal. MI: University of Michigan Press, (2001a).
Barton, D., Mary H., and Ivanie, R. (eds) Situated Literacies; Reading and Writing in Context. New York: Routledg, (2000).
Baynham, M. Literacy Practices; Investigating Literacy in Social Contexts. London: Longman, (1995).
Bright, J.S. (n.d) Lively Love Letters. New Delhi: Goodwill.
Collier, J.F. From Duty to Desire: Remaking Families in a Spanish Village. Princeton: Princeton University Press, (1997).
Collins, J. Literacy and literacies. Annual Review of Anthropology 24, 75-93, (1995).
Cook-Gumperz, J. Introduction: The social construction of literacy. In the Social Construction of Literacy (pp. 1-15). Cambridge: Cambridge University Press, (1986).
Desjarlais, R.R. Body and Emotion: The Aesthetics of Illness and Healing in the Nepal Himalayas. Philadelphia: University of Pennsylvania Press, (1992).
Divakaruni, C.B. Sister of My Heart, New York: Doubleday, (1999).
Escobar, A. Encountering Development: The Making and Unmaking of the Third World. Princeton: Princeton University Press, (1995).
Freire, P. and Macedo, D. Literacy: Reading the World and the World. South Hadley, MA:Bergin and Garvey, (1987).
Freire, P. Pedagogy of the Oppressed. New York: Continuum/Penguin, (1972).
Goody, J. and Watt I. The consequences of literacy. Comparative Studies in History and Society 5,306-26,332-45, (1963).
Goody, J. The Interface Between the Written and the Oral. Cambridge: Cambridge University Press, (1987).
Goody, J. The Logic of Writing and the Organization of Society. Cambridge: Cambridge University Press,(1986).
Goody, J. The Power of the Written Tradition. Washington: Smithsonian Institution Press, (2000).
Grillo, R.D. and Stirrat, R.L. Discourses of Development: Anthropological Perspectives, New York: Berg, (1997).
Gupta, A. Postcolonial Developments: Agriculture in the Making of Modern India. Durham: Duke University Press, (1998).
Kulick, D. and Stroud , C. Christianity, cargo and ideas of self. Man n.s. 25, 70-88, (1990).
Kulick, D. and Stroud, C. Conceptions and users of literacy in a Papus New Guinean village B street (ed.) Cross Cultural approach to Literacy(pp. 30-61). Cambridge: Cambridge University Press, (1993).
Luke, A. Literacy, Textbooks and Ideology: Postwar Literacy Instruction and the Mythology of Dick and Jane: London: Falmer, (1988). .
Luke,A. Genres of Power? Literacy education and the production of capital In R. Hasan and G. Williams(eds) Literacy in Society(Applied Linguistics and Language Study). Boston. MA: Addison-Wesley, (1996).
Manohar (n.d) Love Letters. New Delhi, New Light.
Ministry of Education and Culture My English Book Two: For Grade Five: Bhaktapur,Nepal: Janak Education Materials, (1983).
Movsesian, A.J. How to Write Love Letters and Love Poems. Bombay:
Pigg, S.L. Inventing social categories through place: Social representations and development in Nepal. Comparative Studies in Society and History 34 (3), 491-513, (1992).
Pigg. S.L The credible and the credulous: The question of ‘villager’s beliefs’ in Nepal. Cultural Anthropology 11 (2), 160-201, (1996).
Scieffelin, B.B Introducing Kaluli literacy: A chronology of influences. In P.V. Kroskrity (ed.) Regimes of Language: Ideologies, Politics, and Identities (pp. 293-327). Santa Fe, NM. School of American Research, (2000).
Sivaramkrishnan, K. Crafting the public sphere in the forests of West Bengal: Democracy, development, and political action. American Ethnologist 27 (2), 431-61, (2000).
Street, B.V. (ed.) Literacy and Development: Ethnographic Perspectives, New York Routledge, (2001).
Street, B.V. Literacy in Theory and Practice. Cambridge: Cambridge University Press, (1984).
Williams, R. Marxism and Literature. Oxford. Oxford University Press, (1977).
Woost, M.D. (1977). Alternative vocabularies of development? Community and participation in development discourses in Sri Lanka. In R.D. Grillo and R.L. Stirrat(eds) Discourses of Development: Anthropological Perspectives (pp. 229-53). Oxford: Berg.
कोविद, प्र (एन डि) प्रेमपत्र, बनारस,भारत।
घिमिरे, भ, महेन्द्र माला: कक्षा एक. भाषा र सामाजिक शिक्षा एकिकृत पाठ्य पुस्तक, शिक्षा तथा संस्कृति मन्त्रालय, नेपाल, जनक शिक्षा सामग्री केन्द्र, भक्तपुर, नेपाल, (१९८८)।
शिक्षा तथा संस्कृति मन्त्रालय, नयाँ गोरेटो, १५औं संस्करण, काठमाण्डौं, नेपाल: गोरखापत्र संस्थान, (१९९४)।
[अनुवाद: बालकृष्ण बल
अंग्रेजी भर्सन: http://anthro.rutgers.edu/index.php?option=com_docman&task=doc_download&gid=154&Itemid=103
अनुसन्धानकर्ता: LAURA M. AHEARN is a linguistic and sociocultural anthropologist who works on issues of gender, kinship, and marriage in Nepal. Her book, Invitations to Love: Literacy, Love Letters, and Social Change in Nepal (University of Michigan Press, 2001), is about the new courtship practice of love letter writing in the Magar village where she was a Peace Corps volunteer for several years in the early 1980’s. She is interested in agency, constraints on meaning in Nepali women’s songfests, and the changing meanings and values surrounding childbirth in Nepal. Currently, she is writing a textbook on linguistic anthropology for Blackwell.]
No comments:
Post a Comment