Thursday, September 9, 2010

पथिक प्रवासन उपन्यासको एक अंश

पंचम अधिकारीको पुस्तक पथिक प्रवासन

पुस्तक:- पथिक प्रवासन
लेखक: पंचम अधिकारी
प्रकाशन: जय प्रकाशन
वितरक: साझा प्रकाशन, पाटन बुक शप
मुल्य: १५०/-

 
 
 
 
पंचम अधिकारीको नयाँ पुस्तक पथिक प्रवासन (उपन्यास)बाट लिइएको अंश
।। ५।।
 
  गाउँ पुग्न बसबाट ओर्लेर एकोहोरो तीन घण्टा हिंड्नुपर्छ। गाउँ जाने कुरामा मलाई झन्झट लाग्ने एउटा कुरा यही हो। यो गहिरो खोलामा पुल हाले त बेंसीसम्म मोटर जान सक्थ्यो। बेसीबाट त आधा घण्टा त हो। सोती खोलाको 'फड्के' तर्ने बेलामा आङ सिरिङ्ग हुन्छ। लटपट भइहालियो भने गर्लामगुर्लुम पानीमा खसिन्छ। पानी यहीँनेर गहिरो र हरियो छ। यो हरियो पानीमाथि भन्दा अलिक माथि फड्के राखे त डर पनि कम लाग्थ्यो होला। म सधैं यही गथेसो गर्छु, तर्ने बेला। यही ठाउँमा खोला साँघुरो र कम जोशिलो भएकोले फड्के यहीँ राखेको रे। यस्ता गनगन कसैले सुन्नु पनि हुँदैन। सहरतिर बस्न थालेपछि सहरिया भइस् भनेर हकार्छन्। गिज्याउँछन्। 

   वर्षा याममा खोला हिंस्रक बन्छ र फड्केलाई सँगै लैजान्छ। वर्षेनी गाउँमा यसको ठूलो चर्चा हुन्छ किनकी राजमार्ग जोड्ने यही मुख्य बाटो हो। यो किन पनि चर्चित छ भने यसमा पुल बन्ने आश्वासनका भाषण धेरै पटक भएका छन्। त्यस्ता भाषण मैले बच्चैदेखि सुन्दै आएको छु। 
   'माझी ढुंगो' आएपछि गाउँ जाने बाटो सालाखाला आधा रहन्छ। सबैको सुस्ताउने निहुँ यही ढुंगो बन्छ। ढाक्रेहरूको डोकोको भारी अड्याउन पनि यो अजंगको ढुंगो ठीक्क मिलाएर राखिए जस्तो लाग्छ। 
   केटाकेटीमा यही ढुंगामाथि चढेर खोलाले बनाएको फाँट हेर्न औधि रमाइलो लाग्थ्यो। खुर्र दौडिँदै जान्थें। ढुंगामाथि चढेर आमाबुबा नजिकिएको हेर्थेँ। सुस्केरा र सुसेली सुन्थेँ।
   आजसम्म पनि तन्नेरीहरूले मन परेकाहरूको नाम जोडेर अनेक बान्कीमा लेख्ने गरेका छन् यो ढुंगामा। बेलाबखत आफ्नो मन परेकालाई प्रेमको इशारा दिने ठाउँ बनाएका छन्। आज पनि यो ढुंगा त्यस्तै त्यस्तै थुप्रै सन्देशले गिजिङमिजिङ रहेको छ। मलाई पनि कता कता साधनाको नाम जोडेर ढुंगामा खरीले आफ्नो नाउँ लेखुँ जस्तो लाग्छ। पीपलको जरा जस्तै गडेर बसोस् हाम्रो मित्रता पनि। फेरि सोच्छु― साधना त यो बाटो हिंड्दिन। त्यसो भए लेख्नुको वा अन्य इशाराको पनि के अर्थ हुन्छ त? 
   खोलापारिको कण्ठध्वनि र त्यसको गुञ्जनले त्यो एकान्तलाई प्रायः चिरेको हुन्छ।
कहिलेकाहीँ दाइहरू वारिबाटै दोहोरी गाउनुहुन्थ्यो। अरुले गाएका भाकाको उत्तर फर्काउनुहुन्थ्यो। गहिरो अर्थ लुकेको लिरिक्स। अनि त्यसमा ज्यान दिने लय र सुर। अहो, कति निश्चल र गुञ्जनपूर्ण दिन थिए ती। यिनै जीवन्त गनथनसँगै आधा बाटोलाई छोट्याउँछु। एउटा ढिस्को आइपुग्छ।