Thursday, September 9, 2010

पथिक प्रवासन उपन्यासको एक अंश

पंचम अधिकारीको पुस्तक पथिक प्रवासन

पुस्तक:- पथिक प्रवासन
लेखक: पंचम अधिकारी
प्रकाशन: जय प्रकाशन
वितरक: साझा प्रकाशन, पाटन बुक शप
मुल्य: १५०/-

 
 
 
 
पंचम अधिकारीको नयाँ पुस्तक पथिक प्रवासन (उपन्यास)बाट लिइएको अंश
।। ५।।
 
  गाउँ पुग्न बसबाट ओर्लेर एकोहोरो तीन घण्टा हिंड्नुपर्छ। गाउँ जाने कुरामा मलाई झन्झट लाग्ने एउटा कुरा यही हो। यो गहिरो खोलामा पुल हाले त बेंसीसम्म मोटर जान सक्थ्यो। बेसीबाट त आधा घण्टा त हो। सोती खोलाको 'फड्के' तर्ने बेलामा आङ सिरिङ्ग हुन्छ। लटपट भइहालियो भने गर्लामगुर्लुम पानीमा खसिन्छ। पानी यहीँनेर गहिरो र हरियो छ। यो हरियो पानीमाथि भन्दा अलिक माथि फड्के राखे त डर पनि कम लाग्थ्यो होला। म सधैं यही गथेसो गर्छु, तर्ने बेला। यही ठाउँमा खोला साँघुरो र कम जोशिलो भएकोले फड्के यहीँ राखेको रे। यस्ता गनगन कसैले सुन्नु पनि हुँदैन। सहरतिर बस्न थालेपछि सहरिया भइस् भनेर हकार्छन्। गिज्याउँछन्। 

   वर्षा याममा खोला हिंस्रक बन्छ र फड्केलाई सँगै लैजान्छ। वर्षेनी गाउँमा यसको ठूलो चर्चा हुन्छ किनकी राजमार्ग जोड्ने यही मुख्य बाटो हो। यो किन पनि चर्चित छ भने यसमा पुल बन्ने आश्वासनका भाषण धेरै पटक भएका छन्। त्यस्ता भाषण मैले बच्चैदेखि सुन्दै आएको छु। 
   'माझी ढुंगो' आएपछि गाउँ जाने बाटो सालाखाला आधा रहन्छ। सबैको सुस्ताउने निहुँ यही ढुंगो बन्छ। ढाक्रेहरूको डोकोको भारी अड्याउन पनि यो अजंगको ढुंगो ठीक्क मिलाएर राखिए जस्तो लाग्छ। 
   केटाकेटीमा यही ढुंगामाथि चढेर खोलाले बनाएको फाँट हेर्न औधि रमाइलो लाग्थ्यो। खुर्र दौडिँदै जान्थें। ढुंगामाथि चढेर आमाबुबा नजिकिएको हेर्थेँ। सुस्केरा र सुसेली सुन्थेँ।
   आजसम्म पनि तन्नेरीहरूले मन परेकाहरूको नाम जोडेर अनेक बान्कीमा लेख्ने गरेका छन् यो ढुंगामा। बेलाबखत आफ्नो मन परेकालाई प्रेमको इशारा दिने ठाउँ बनाएका छन्। आज पनि यो ढुंगा त्यस्तै त्यस्तै थुप्रै सन्देशले गिजिङमिजिङ रहेको छ। मलाई पनि कता कता साधनाको नाम जोडेर ढुंगामा खरीले आफ्नो नाउँ लेखुँ जस्तो लाग्छ। पीपलको जरा जस्तै गडेर बसोस् हाम्रो मित्रता पनि। फेरि सोच्छु― साधना त यो बाटो हिंड्दिन। त्यसो भए लेख्नुको वा अन्य इशाराको पनि के अर्थ हुन्छ त? 
   खोलापारिको कण्ठध्वनि र त्यसको गुञ्जनले त्यो एकान्तलाई प्रायः चिरेको हुन्छ।
कहिलेकाहीँ दाइहरू वारिबाटै दोहोरी गाउनुहुन्थ्यो। अरुले गाएका भाकाको उत्तर फर्काउनुहुन्थ्यो। गहिरो अर्थ लुकेको लिरिक्स। अनि त्यसमा ज्यान दिने लय र सुर। अहो, कति निश्चल र गुञ्जनपूर्ण दिन थिए ती। यिनै जीवन्त गनथनसँगै आधा बाटोलाई छोट्याउँछु। एउटा ढिस्को आइपुग्छ।

   झाडीले भरिएको यो ढिस्को पार गरेपछि गाउँ आउँछ। यो ढिस्कोमा सही मौसममा बयर फलेका हुन्छन्। टिप्ने र सित्तैमा खाने हो। कस्तो रमाइलो! केटाकेटीमा हामी आमा–बुबालाई उछिनेर बयरको झाडीमा झम्टिन्थ्यौं। यो बयरलाई नगदेबाली बनाउन पाए! सोच्छु― खोलाको बालुवाबाट सुन निफने जस्तो हुन्नथ्यो र? यो आडैको सानो डाँडाभरी सुन्तला रोपे के होला? ऊ त्यो अझ अर्को ठूलो डाँडाको टुप्पोबाट त अन्नपूर्णाको शिरमा सूर्य झुल्केको देख्न सकिन्छ। सुन्तला र बयरको नगदे कमाइ! सूर्योदयमा चिम्नी डाँडाको रोमाञ्च! आम्मई!!
   के यति आशा गर्नु धेरै हो? 
   “ए, माथ्लाघरको कान्छा आएछ। छिटो छिटो गर्नु। ढिलो भएपछि हिंडडुल गर्नु राम्रो हुँदैन।” म झसङ्ग हुन्छु। गनथन गर्दागर्दै बेंंसीसम्मै आइपुगेँछु। 
   “ओहो, थापा सर हुनुहुँदोरहेछ। .... सरलाई कस्तो छ?” सोधपूछ शुरु हुन्छ। 
ढोगभेट, नमस्ते र सन्चो–बिसन्चो चल्छ। मलाई गाउँको रौनक शुरु भएको आभास हुन्छ। कति फरक छ गाउँ? 
   म अनुभव गर्छु― सहरभन्दा यहाँको जीवन नितान्त फरक छ। गाउँ आफ्नोपनले भरिएको छ। यहाँ संवेदनाका आँखाहरू धेरै छन्। गाउँलाई चर्मचक्षुले भन्दा तिनै आँखाले हेर्न र देख्न सकिन्छ। बर्षा र बतास, आर्द्रता र उष्णता झेल्दै आफू हुर्केको यो ठाउँ! म भावविभोर हुन्छु। 
   म तपाईंहरूलाई सत्य भन्छु, यसले सधैं मलाई कुतकुती लगाउँछ। मनको तागत पनि अचम्मको हुँदो रहेछ। त्यसैले त गाउँ फर्किने भनेपछि मेरो मन सधैं चंगा हुन्छ। काठमान्डुको धुवाँ धूलो पच्दैन। आँखा पोल्ने र घाँटी दुख्ने हुन्छ। गाउँमा आफूलाई अलि ताजा पाउँछु।
   यो कहालीलाग्दो अँध्यारो रात थियो। चिसो थियो। त्यसैले आँगनमा दाउरा बालेर आगो ताप्दै गरेका थियौँ। मीठो गफ पनि चलिरहेको थियो। मेरा कुरा सुन्ने चासो, चाख हुन्छ आमामा। मेरा साना–साना कुरामा पनि विशेष चाख राख्नुहुन्छ। रसिला प्रश्न पनि तेर्स्याउनुहुन्छ। आज पनि मोहीले भरिएको गिलास मेरा हातमा राखिदिँदै सहरको जीवनबारे निधिखुदी गर्न थाल्नुभयो। आज भने मैले अरुवेलाभन्दा थप दुई श्रोता पाएको छु, मेरा कुरा चाखपूर्वक सुन्ने। पल्लो गाउँबाट फूपू दिदीका दुई छोरा आएका रहेछन्। म घर फर्कंदैछु भन्ने खबर सुनेर। अरब जाने रहर पालेका फूपू दिदीका छोराहरू सहरमा गएर कसरी सही दलाल समात्ने? भन्ने कुराको भेउ पाउन आएका रहेछन्। चाँजोपाँजोमा काठमान्डु बस्नको लागि सबैभन्दा नजिकको नाता र सहयोगी मै हुँ। मेरो दाजुको अरबको खबर सुन्न र बुन्न पनि ती हतारिएका थिए। अलिकति पैसा मेरा बुबाले थपिदिए, मसँगै काठमान्डु जाउँला जस्तो मनसुबा देखिन्थ्यो। त्यसैले होला मैले बोलेका हरेक शब्दको अर्थ केलाएर उनीहरू औधि रुचिले सुनिरहेका थिए। 
   त्यसैबखत, आगोको झल्को मेरो कानैनेरबाट हुईँकियो र दुई हात टाढा गएर खस्यो।
म तर्सेँ। क्षेप्यास्त्र जस्तो आएको त्यो उज्यालो चिर्पटो सानो रातो अँगार बनेर टिलपिल टिलपिल गर्‍यो र सेतो खरानीको आवरणमा लुक्यो। म तर्सेको देखेर सबै खितखित हाँसे। 
   धेरै अगाडिको एउटा घटना सम्झेँ। शिवरात्रीको दिन थियो। जलिराखेको शिवको धुनीमा ठूला भान्जादाइले पोलेर खान आलु राखेका रहेछन्। एक्कासी पड्क्यो र बमका छिर्का झैं सर्वत्र छरियो। म तर्सिएँ। मेरो चाला देखेर भान्जादाइ बेतोडले हाँसेका थिए। 
   कुरा के थियो भने बिस्कुट मागेर मैले भान्जादाइलाई र्‍याखर्‍याख्ती पारेको थिएँ। म भाइ भएकाले पाहुर माग्ने मेरो हक सम्झेको थिएँ मैले तर आमाले भन्नुभएको थियो– “भान्जाभान्जी मामाघर आउँदा कोसेली बोक्दैनन्।” 
   त्यतिखेर म सानो बच्चा थिएँ दुनियाँको ज्ञान सीमित भएको। “म भाइ हो, मेरो हक छ”, भन्ने सोचमा मैले पाहुरको लत्तो छोडेको थिइन। त्यसैले, सट्टामा आलु पोल्न हालेका थिए उनले। पोलिंदै गरेको आलुलाई लोभी बालकले रसभरी–लालमोहन हेरे झैं घिच्रो तन्काएर हेरिरहेको थिएँ मैले।
   त्यही आलुले मेरो सातो लियो। 
   म उनीसँग नाखुश भएँ। 
   “बिस्कुट त दाजुले मलाइ पो दिनु भो। आऊ, म तिम्लाई दिउँला”, भनेर दिदीले मलाई चुड्कीमै फकाइन्। म फकिएँ। अनि दिदीले मलाई 'एक कुट', 'दुई कुट', 'तीन कुट' भनेर समाती समाती ढाडमा बिस पटक पुर्‍याएकी थिइन्― 'बिस्–कुट' भन्दै। त्यसपछि सबै हाँसे, म जिल्ल परेँ। त्यो पुरानो घटनाको स्मरण गर्‍यौं सबैले। यसपटक म पनि हाँसे। 
   गफैगफमा रातीको एघार बज्यो। अनि सबै सुत्यौं। 
   रातको सवा एक भएको थियो। पाहुना दाइहरू सुतेको कोठीको ढोकामा कसैले लात्तीले हानेको सुनियो। त्यसपछि मूल ढोकामा पनि हान्न थाले। आमाले ढोका खोल्नुभयो।
उनीहरूले नामै किटेर बुबालाई खोजे। बुबा ढोकामा हाजिर हुनुभयो। म पनि बुबाको पछिपछि पुगें। ढोकामा पुग्दा त पाहुना दाइहरूलाई उनीहरूले पाता फर्काएर बाँधिसकेका थिए।    
   मैले आँगन वरिपरिदेखि बारीसम्म एक दर्जन भन्दा बढी मान्छेहरूलाई सैनिक पोशाकमा देखें। सबैले बन्दुक भिरेका थिए। ३–४ जनाले घर खानतलासी गरे। 
   आमाले आफ्ना भान्जाहरूको नाता र थर ठेगाना विस्तार लगाउँदै भन्नुभयो– “उहाँहरू पाहुना हो।”
   त्यो सुनेर एउटा अग्लो चाहिँले भन्यो– “हामी यस्तै पाहुना खोज्न आ'को।”
   उसको अनुहारको बान्की जब्बर रिसाहा देखिन्थ्यो। त्यसको अनुहार त केवल उसकी आमालाई मात्र मन पर्दो हो।
   उसले मतिर झम्ट्यो र भन्यो– “यो पनि पाहुना हो?” 
   आमाले 'यो मेरो कान्छो छोरो हो' भन्नुभयो। तर उसले पत्याएन। मलाई समेत घिसार्‍यो। पाँच मिनेट जति आमाले सुँक्क सुँक्क गर्दै मेरो नाता प्रमाणित गर्नुभयो― 'यो मेरै कोखबाट जन्मिएको छोरो हो, काठमान्डु पढ्दै गरेको छ' भनेर।
   उसले अनिच्छापूर्वक पत्याउने प्रयास गर्‍यो।
   अर्को जुँगेले बुबालाई केरकार गर्‍यो– “अचेल भात खान कत्तिको आउँछन्?” 
   “मेरामा मात्र होइन। गाउँका सबैकहाँ माओवादी पालैपालो आउँछन्, भात पकाउँछन्”, बुबाले रमरम डर घोलिएको स्वरमा भन्नुभयो। 
   त्यसपछि जुँगेले मतिर बन्दुकको कुन्दा सोझ्यायो– “त्यो को हो?” उसको स्वर ब्वाँसोको जस्तो छ।
   बुबाले फटाफट भन्नुभयो– “कान्छो छोरो।” 
   “ए,. . . पनि कमरेड नै रै'छ।” जुँगेले मलाई क्वाप्पै खाउँला झैं गरी हेर्‍यो।
   त्यस सैनिकको बन्दुक लत्रिएन। 
   मेरा अगाडि त्रासको भुमरी घुमिरह्यो। 
   उनीहरूले पाहुना दाजुहरूलाई हिँडाए। आमाले मेरा भान्जाहरू भन्दै रुँदै 
पछ्याउनुभयो। एउटाले आमालाई घरतिर घचेट्दै भन्यो– “ढोका ला'र सुत् बुढिया।” 
   त्यसपछि हामीले छिमेकी हेड सर शर्मा काकाकोमा खबर गर्‍यौं। हेड सर गाउँ–समाजका अति महत्वपूर्ण मान्छे हुन्। अथवा, हाम्रो गाउँमा यस्तै सोचिन्थ्यो। “तुरुन्तै केही गर्दैनन् होला। भोलि बिहान कुरा बुझ्नुपर्छ”, उहाँले लाचारीसँग भन्नुभयो। 
   हामी सबै सुत्ने तरखरमा लाग्यौं। रातको साढे तीन भएको थियो। अँधेरी खोलातिरबाट चार गोली पड्केको सुनियो। मलाई लाग्छ, गाउँका हरेक कुकुर भुकेका छन् यतिखेर।
   हामी फेरि हेड सरको घरमा गयौं। उहाँले उज्यालो भएपछि जानुपर्छ भन्नुभयो।
   उज्यालो भएपछि सबेरै भान्जा खोज्न अँधेरी खोलातर्फ लाग्यौं। आकाशमा कालो टालोले उदाउँदो सूर्यलाई छेकेको छ। वरिपरि कमलपित्तले ग्रस्त रुखहरू छन्। बीचमा सुकेनास जस्तो खोला छ। बहुलाएको हावा सुईंय गर्छ। एउटा लडेको रुखको कापमा जंगली झंगा भन्किरहेका थिए। अनौठो गन्ध आइरहेको थियो। त्यहींँ दुई जनाको शव लडिरहेको देखियो। शवमा अगाडिबाट हानेको गोलीले छातीमा भ्वाङ पारेर गएको थियो।
लपक्क भिजेको जीउ रगत सुकेर कक्रक्क भएको थियो। आमा मलाई बेस्करी अँगालोमा च्यापेर रुन थाल्नुभयो। बुबा लुत्रुक्क परेर मूढामाथि बस्नुभयो शक्तिहीन जस्तो भएर। मेरो मुटुको धडकन बढ्यो। बढी क्रोधले र अलिकति डरले। धन्यवाद भगवान्– हजुरको परम अनुकम्पाले– मेरो बचावट भयो। तिनले मलाई पनि घिसार्न खोजेका थिए।
   आँसुले रुझेर लुत्रुक्क पर्दै घर फर्क्यौ। म निहुरमुन्टी थिएँ। जीउमा आँत भर्न पिंढीमा आमाले मोहीको एक गिलास थमाउनु भयो। उहाँको कँुडिएको मन बोल्यो– “यस गाउँका समस्या भन्न नहुने कथा र गाउन नमिल्ने गीत बनेका छन्।”   
   आमाले त्यसो भन्दै गर्दा बुबा घरको ढोकाबाट आँगनतर्फ निस्कँदै हुनुहुन्थ्यो। उहाँको एउटा खुट्टा ढोका बाहिर र एउटा खुट्टा ढोकाभित्र थियो। कपाल जिंग्रिङ्ग देखिन्थ्यो। मलाई त्यो देख्दा ननिको लाग्यो। सूर्यलाई चंचल बादलले छोप्दै गर्दा सूर्यास्त हुन आँटेको पलको भान पर्दो थियो। छिमेकीको कुकुर भुकेको भुक्यै छ। ढोकाबाट निस्कँदा निस्कँदै बुबाले आत्तिएको स्वरमा भन्नुभयो– “यहाँ जे पनि हुनसक्छ। जे पनि।”
   उहाँको स्वरले दुःखित समयलाई अरु स्तब्ध बनायो। “ती भान्जाहरुको के दोष थियो?”
बुबाको स्वर बाक्लिंदै गयो। रुन्चे पाराले। उहाँले घाँटी सफा गर्नुभयो र फेरि प्रयास गर्नुभयो– “यो भन्दा नराम्रो के हुनसक्छ?” अनि एक छिन रोकिएर बुबाले के सोच्नुभयो कुन्नी मतिर असहाय नजरले हेर्दै भन्नुभयो– “यो जीवनमा, यो भन्दा ज्यादा नराम्रो 
देख्नु नपरोस्।”
   “यस्तो कुरा नगर्नुस, हजुर। मलाई फेरि रुन मनलाग्छ”, आमाले भन्नुभयो। बुबाले विरक्तिपूर्वक आमातिर हेर्नुभयो। सायद, उहाँको दिमागमा हजार कुरा छन् भन्नको लागि तर निश्चितरुपमा, प्यार्र प्यार्र बोलेर झन खराबभन्दा बढी केही हुन्थेन।
   अँधेरी खोलाबाट फर्कंदै गर्दा शर्मा काकाले बुबालाई भन्नुभएको थियो– “यो एउटा जात्रा हो। सैतानहरुको जात्रा। भान्जाहरु मारिएको समाचार भोलि रेडियोमा हामीले सुन्नुपर्नेछ। आतकंकारी वा त्यस्तै उस्तै विशेषणमा। स्वर चर्को गरे ती नरपिशाचले तपाईंलाई नै आतंकित गर्नेछन्।”
   आँगनको डिलमा बसेर बुबा पल्लोपट्टिको सेरोफेरोतिर टोलाउनु भयो। उहाँको अनुहार परास्त भएको मान्छेको जस्तो देखिन्छ।
   “अब पढाइ सकियो भन्छस्। के गर्छस् त बाबै?” आमा उत्सुक बन्नुभयो। 
   “मलाई त विदेश गएर अरू पढ्ने रहर छ। तर ....” 
   “तर के?” उहाँलाई हतार छ, मेरो कुरा सुन्न।
   “पैसाको कुरा छ। थुप्रै पैसा चाहिन्छ”, समस्या तेर्स्याउँछु। 
   आमा सुझाउनु हुन्छ– “बाबु, हाम्लाई पैसा चाहिया छैन। दुःख–सुखले किसानी गरी ज्यान पाल्छौं। हाम्रो आशा र आशीर्वाद भनेको तिमरु सन्तान हौ। सबैको तारो भनेकै तिमरु तन्नेरी छोराहरू हौ। दाजुले अरबमा गएर कमाउन थाल्या'छ। तिमी दाजुभाइ सल्लाह गरी बन्दोबस्त गर।” 
   आमाले बुबातर्फ स्वीकृति चाहेको आँखाले हेर्र्नुभयो। बुबाले थप्नुभयो– “मेरो खूबीले तँलाई काठमान्डु पढाएँ। अब, दाइको भर परेस्।” 
   'दाइ' शब्द सुन्ने बित्तिकै मनमा त्यो आकृति झ्वाप्प छिर्‍यो। रंग भरियो। 
   “आजै सहर फर्केस् बाबु”, बल्लतल्ल रंगिएको मनलाई आमाले धपाउन खोज्नुभयो। जाँचसाँच सकीवरी प्रशस्त फुर्सद बनाएर मूल घर फर्किएको थिएँ। आमाबुबालाई पनि रहर भइसकेको थियो। एकै रातमा अत्यास मेटिएछ। मैले आफैंलाई निरूपाय पाएँ। 
   “घरमा हुर्केको र बलिया पाखुरा भएको देखेपछि सबैको नजर लाग्छ। बित्थामा संकट आउँछ।” भयको छिर्का छ, आमाबुबाको अनुहारमा। 
   “फौजीको पालो सकिएपछि, माओवादी पुनः सलबलाउँछन्। तिनका आँखा पनि तैं जस्ता बलियाबाँगा तन्नेरीमाथि गाडिन्छ”, बुबा पिरलो गर्नुहुन्छ। 
   आफ्नै ओतमा आँखी रहेछु।
   म सम्भि्कन्छु, पहिलोचोटि काठमान्डु जान घरमा कति रस्साकस्सी गर्नुपरेको थियो।
'अब लाठे भइस्' भनेर बुबाले काठमान्डु जाने कुरामा हप्काउनुभयो। उहाँको विचार थियो– 'ऊ त्यो स्कूलका हेड मास्टर यहीँबाट ओहोर–दोहोर गरेर पास भए। अहिले हेड सर भएका छन्। सबैले नमस्ते गर्छन्। इज्जत छ।' 
   स्थानीय प्राथमिक विद्यालयका हेड सर शर्मा काकाले यहीं घरबाट ओहोरदोहोर गरेर एस.एल.सी. गर्नुभएको। उहाँ दिनहुँ डेढ घण्टा लगाएर पैदल स्कूल जानुहुन्थ्यो रे! त्यो पनि बेंसीका गाइबस्तुलाई एक घान घाँस दिएपछि मात्र। घर फर्कंदा घाँस कुँडो समेत गरेर आउनुहुन्थ्यो रे! 
   शर्मा काकाको गाउँमा भयंकर बखान थियो। गाउँलेका नजरमा र यथार्थमा पनि उहाँ स्कूललाई साँच्चिकै माया गर्ने हेडमास्टर हुनुहुन्थ्यो। आफ्नो जागीरभन्दा ज्यादा। 
   मैले एस.एल.सी. पास गरेपछि भने बुबाको मुखमा बुजो लाग्यो। मैले काठमान्डु पढ्न जाने अड्डी लिएँ। गाउँमा दुइछाक खान पुग्नेको छोरो भएकोले पनि 'आजकलको जमाना' भन्दै खर्च भर्न थाल्नुभयो बुबाले। दाइ चाहिँ एस.एल.सी. मा गुल्टिएका थिए। फलामे 
ढोका पार गर्न सकेनन्। त्यसैले गतिलो जागिरको आश पनि गरेनन्। पाएनन् पनि। र अरबतिर हान्निए। कान्छो छोरो भएकाले म फाइदामा परें। 
   म पढ्न काठमान्डु जाने साइतमा ढोका दायाँबायाँ गाग्रीभरि पानी राखेर आमाले रातो टीका लगाइदिनुभएको थियो। “छोरी बिहे गरेर पराई घर गई। ठूले पनि गयो। कान्छो पनि गयो”, आँखामा आँसु टिलपिल पार्दै आमाले भन्नुभएको थियो।
   मैले त्यो दिन बुबाको आँखा रसाएको देखेको थिएँ, पहिलोचोटि। 
   आमा–बुबाको मायाको सरोबरमा डुबुल्की खेलेको झल्झल्ती याद आउँछ। त्यस्तो हुरुक्क गर्ने बुबाआमाको मनमा आज खुरुक्क गइदिए हुन्थ्यो भन्ने छ। 
   ढोकामाथि गौंँथलीको गुँडमा बच्चा आहारा कुरेर बसिरहेका रहेछन्। मन अलिकति बैरागिन्छ। ती बच्चाका जीउमा, राम्ररी प्वाँख पलाइसकेका छैनन्। प्वाँख उम्रेपछि, पखेटा छिप्पिएपछि चारा कुरिरहन पर्दैन, पाउन्नन्। माउले उड्ने तयारीका निम्ति गुँडबाट 
घुचेटिदिन्छन। त्यसपछि आफैं स्वच्छन्द विचरण शुरु गर्छन्। 
   आज मेरो माउले पनि उड्न घचेटे जस्तो लाग्यो। शायद गुँड वरिपरि घुम्न थालेको न्याउरीमुसाबाट जोगाउन हुनसक्छ।
   काठमान्डुको बाटोतिर सोझनु सट्टा श्यामको घर पर्ने गरी घुमाउरो बाटो रोजें। श्यामका आमाबाबु भेटिए। मैले नमस्ते भन्दा आमा टोलाइरहेको अवस्थामा हुनुहुन्थ्यो।
बुबाले तागत सिद्धिए जसरी मलिन स्वरमा मेरो हालचाल सोध्नुभयो। “खै बुबा, म त विदेशतिर
पो जाने कि, सोच्दैछु”, मैले भनें।
   “श्याम पनि विदेश जान्छु भन्थ्यो। पैसा जुटाउन सकिन, बाबु”, श्यामको बुबाले भन्नुभयो।
   मैले काठमान्डुमा श्यामसँग अन्तिम पटक भेट हुँदाको विवरण उल्लेख गरें।
   “हामीले त उसको बिहेको कुरा चलाएका थियौं। राम्रो घरकी सुन्दर कन्या दिन आएका थिए। पहिले त मानेको थिएन। पछि सोचविचार गर्छु भन्थ्यो। यसपालिको लगन गैहाल्यो।” श्यामको बुबा बोल्दै गर्दा उता श्यामकी आमा सुँक्कसुँक्क गरेको सुनियो। “अँसी, गोरखातिर साथी छन्। उतै जान्छु। फर्कन ढिलो भए चिन्ता नगर्नुहोला भन्थ्यो”, श्यामको बुबाले भन्नुभयो– “....बाँकी कुरा पत्रिका पढेर थाहा भयो।”
   बाटो निरस छ। कुनै गीत छैन। लय छैन। झ्याउँकीरी रुङरुङती शोकध्वनि घन्काइरहेछन्। गोरेटोमा कुनै रंग छैन। उदास धूलो 'खुइलिएको सिन्दूर' झैं लाग्छ। झाडी भने हरियो छ। टुसाउने सामर्थ्य राख्छ। झाडीको पात तान्छु। काँढाले चस्स पार्छ।
ऐया, 'कस्तो हुस्सु भएँछु', आफैलाई धिक्कार्दै सप्रिएको बुटामा नियाल्छु। पातमा गाढा 
रातो पोतिएको छ।
   आङ सिरिङ्ग हुन्छ। 
   यो रगतले पोतिएछ। मन आत्तियो। यो बाटामा म हजारौं पटक हिँडिसकेको छु। यसरी मुटु कहिल्यै कम्पित भएको थिएन। 'चराको आचीको छिटा परेको होला',  मनलाई ढाडस दिन्छु। उड्दाउड्दै काफलचरी यस्तै बिटुलो गर्छ।
   हिड्दाहिड्दै खुट्टामा छिर्कने पासो झैं लाग्छ। खङरङ्ग हुन्छु। झाङ खस्याक्क गर्छ। मन खिसि्रक्क हुन्छ। 'ए, झरेको पात पो रहेछ!' 
   यस्तै गरी बढिरहकै बेला एक्कासी हिलोमा चिप्लिए झैं भएँ म। काँपेका घुँडा झन् काँप्न थाले। म भित्तातिर दपेटिँदै थिएँ। डरलाग्दो कालो आकृति आँखा अगाडि छायो। कालो निलो अनुहारले आकाशतिर उज्यालो खोज्यो। अन्तिम शक्ति लगाएर आँखा च्यातिए।
हा, केही होइन रहेछ। चरी भुर्र उड्दै बिलायो। कांपेको मन शान्त भयो। 
   ए, माझी ढुंगामा आइपुगेछु! हिजै त हो यो बाटो हिंडेको! कल्पनाको हवाइलोकमा बरालिँदैछु। अजगंको त्यो ढुंगालाई क्वारक्वार्ती हेर्छु। लाग्छ– आकार उही छ तर मर्म उही छैन। 
   लामा लामा पाइला चाल्छु।
 
 

1 comment: